पदस्थापन अघिका कामहरु सक्नु भयो त?

Anandbist

 

निर्बाचन सम्पन्न भएको २ महिना पुरा भयो । दुई महिना पछि आज पदस्थापन हुने बारे ३ दिन अघि नै फेसबुक मार्फत निमन्त्रणा बाड्नु भयो भने हामीलाई टेक्स्ट मेसेज पठाउनु भयो, भलै तपाइँसंग फोन गर्ने समयाभाव भयो भन्ने हामीले सोचेका छौँ ।

नेपाली जनसम्पर्क समिति अमेरिका (एनपीआरसीए) को निर्बाचन अघिको हिलो छ्यापाछ्याप र निर्बाचन पछिको हानथाप पक्कै पनि निराकरण भयो भन्ने हामीले अनुभव गरेका छौं । निर्बाचन पछिको धनन्जय नरसिंह केसी, मुनिन्द्र नेम्बाङ्ग, बिष्णु सुबेदी र प्रमोद सिटौलाहरुले खडा गरेको बिबाद साम्य भयो भन्ने हामीले बुझेका छौं । वहाँहरु सबै जना उपस्थित हुनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । निर्बाचन अघि न्युयोर्क लगायतका च्याप्टरहरुबाट चन्दा स्वरुप उठाएको रकम लगायत अधिबेसन खर्चको हिसाबकिताब अधिबेसन आर्थिक समितिले बुझायो होला र त्यो सहि सलामत तपाइँ अध्यक्ष आनन्द बिस्टले बुझ्नु भयो होला भन्ने हाम्रो बुझाई छ । बिष्णु सुबेदीको अधिबेसन तयारी समिति र खगेन्द्र जिसीको अधिबेसन तयारी समितिले आ-आफ्नो समयमा गरेका हिसाब किताबको अमेरिकाको रजिस्टर्ड अडिटरबाट अडिट गराई बुझी लिनु भयो होला भन्ने हामीले बुझेका छौं । एनपीआरसीएका सदस्य कृष्ण लामिछानेले बारम्बार आरोप लाउदै आएको खगेन्द्र जिसीको पालाको हिसाब किताब र टेक्सासको बैंक खाताबाट हजारौं डलर अपचलन भएको र आजसम्म त्यो रकमको हिसाब किताब/स्टेटमेन्ट नदेखाएको भन्ने तथा बेद खरेलले बारम्बार भन्ने गरेको बिष्णु सुबेदीको कार्यकालको हिसाब किताब समेत राम्ररी बुझी लिनु भयो होला भन्ने हाम्रो गम्भीर चासो र चिन्ता तपाइँहरुको पदस्थापन अघि नै हुनु पर्ने कुरामा हामी जोड दिन चाहन्छौं । एकताको अधिबेसन सम्पन्न भएको दुई दिन नबित्दै ४ जना व्यक्तिले बितण्डा मच्चाएर एकताको अधिबेसनको गलत संदेश बाडेको साम्य भए नभएको पदस्थापन अघि तपाइले हामी लगाएत कसैलाई  फेसबुक मार्फत नै भए पनि जानकारी नगराउनु भएकोले हामीमा ब्यापक आशंका छ, पदस्थापन पछि पनि एनपीआरसीए भित्रको लफडा बाहिर सार्बजनिक हुनेछ ।

मुख्यतया सामाजिक प्रकृतिको रुपमा दर्ता रहेको तर राजनीतिक गतिबिधि नै गर्ने उद्देस्य भए पनि एनपीएआरसीको वेब साइटमा यसको सात बर्षको हिसाब किताब अडिट भएको रिपोर्ट नदेखिएको हुँदा एनपीआरसीए अपारदर्शी संस्थामा दरिएकै छ । कीन त्यो कार्य पदस्थापन अघि २ महिनामा सम्पन्न हुन सकेन? तपाइँ अध्यक्षले बोलाउनु भएको सार्बजनिक सभामा आज हाम्रा प्रतिनिधिले एनपीआरसीएको ७ बर्षको अडिट रिपोर्ट मागे भने के दिनु हुन्छ? की तपाइँसंग त्यो रिपोर्टको हार्ड कपि छ र त्यो आज साँझ वितरण गर्ने योजना बनाउनु भएको छ? ७ बर्षमा दोश्रो पटक निर्बाचन गरेर एनपीआरसीएमा प्रजातन्त्र र पद्दति भएको देखाउनु भयो त्यो सह्रानीय छ तर आर्थिक पारदर्शिता पनि संघ संस्थाको उत्तिकै बलबान पक्ष हो । त्यो पारदर्शितालाई लुकाएर आनाकानी गरी एनपीआरसीएलाई आज बेलुका जम्मा हुने तपाइका शुभेच्छुक र आमन्त्रितहरुलाई निरास बनाउनु हुनेछैन भन्ने हामीले आशा एबम भरोशा लिएका छौं ।

न्युयोर्क च्याप्टरका पूर्ब अध्यक्ष सोमनाथ घिमिरेले उठाएको जायज कुराहरुलाई कसरी सम्बोधन गर्नु भयो वा त्यो लफडाको निदानका लागि कसलाई खटाउनु भयो? त्यो पनि जानकारी गराउनु भएको भए बेश हुन्थ्यो । एनपीआरसीए एउटा पारदर्शी संस्था हो भन्ने ज्ञान हरेक प्रजातान्त्रिक बिचार राख्नेलाई गराउन तपाईको बोर्डले लिने निर्णयहरु समेत वेब साइटमा राखेर सबैलाई सुसुचित गराउने काम हुनु पर्ने हो । त्यसपछि मात्र प्रजातान्त्रिक बिचार राख्नेहरु एनपीआरसीए प्रति आकर्षित हुन्छन, अन्यथा यो एउटा सिमित व्यक्तिको झुण्ड बनिरहन्छ, जसरी बिगत ७ बर्ष बन्यो । अमेरिकामा ३ लाख नेपाली छन, जहाँ २ लाख भन्दा बढी प्रजातन्त्रलाई बिस्वास गर्ने व्यक्ति छन तर दुर्भाग्य एनपीआरसीएको सदस्य संख्या ३ हजार पनि छैन भने भोट हाल्नेहरु ६ सय पनि नहुनु लज्जाजनक कुरा भैरहेको छ ।

यी सबै कुराहरुको असल ब्यबस्थापन हुन सके मात्र तपाइँहरुको पदस्थापनको अर्थ हुन्छ । होइन भने त्यो दुनियालाई देखाउने पदस्थापन देखावटी कुरा भन्न सत्य नारायण मन्दिर परिसरबाट निस्केको छिनभरमै तपाइँका शुभेच्छुकहरुको आलोचनाको बिसय हुनेछ । पार्टी खुवाउन बोलाएका आमन्त्रितहरुले तरकारीमा नून के बिधि हालेको? पुलाउमा चिल्लो के बिधि खन्याएको? र अचारमा पिरो के बिधि हालेको? भन्ने जस्ता आलोचनाको पात्र बन्नुको पनि कुनै मज्जा आउछ?

यसमा तपाईको मत