दुई मध्ये एक पराजुली सुनिस्चित

parajuli

एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनका दुई मध्ये एक उपाध्यक्ष पदमा न्युयोर्क निबासी श्री पराजुलीलाई धेरैले सुनिस्चित उम्मेदवार भनेर अनुमान गर्ने गर्छन । उम्मेदवार पराजुली नेपालको पोखराका स्थायी बासिन्दा हुन तर १४ बर्षदेखि अमेरिकाबासी रही आएका छन ।

निर्वाचनको तयारीमा व्यस्त पराजुलीलाई हिजो साँझ उनको सुनिस्चितता बारे टेलिफोनमा कुराकानी गर्दै सोधियो, सुनिस्चितताको आधार के? पराजुलीले भने -अहिले बनेका ३ हजार ९ सय अठासी मतदाताहरु सबैले मलाई चिन्छन, म सबैको परिचित व्यक्ति हुँ भने सबैको भलो हुने काममा आफु दत्तचित्त भै लागेको कारण मेरो उम्मेद्वारी मतदाताहरुले अनुमोदन गर्नेछन । उनी जोड दिंदै भन्छन -मेरो बिजय सहजै हुनेछ भने बाँकी रहेका ४ प्रतिस्पर्धीहरुमा को दोश्रा हुने हो त्यो निर्बाचनले बताउँछ ।

‘समाजसेवा गर्ने मन जहाँ गएपनि उस्तै हुँदो रहेछ । ’प्रतिष्ठा र चर्चाको लागि भन्दा सेवा गर्ने भुमिका खोज्दै एनआरएनको उपाध्यक्षमा प्रतिष्पर्धा गरेको’ उनले बताए । अमेरिकामा रहेका नेपालीहरुको लागि नै आफू संघर्षरत रहेको उनले खुलाए । सन २००९ देखि २०१२ सम्म न्युयोर्कको रिजउडमा रहेको नेपालीहरुको संस्था रिजउड नेपाली समाजको दुई कार्यकालसम्म अध्यक्ष भएर उनले काम गरे । उनले त्यहाँ दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि पहिलो पटक सप्ताहव्यापी श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ सम्पन्न गरी त्यसबाट संकलित रकमबाट रिजउडमा करिब पाँचहजार वर्गफिटको जमिन खरिद गर्न सफल भएका थिए ।

अमेरिकामा आफ्नो संघर्ष नेपालको धर्म, संस्कृति र परिचयलाई जिवन्त राख्नको लागि भएको उनले दावी गरेका छन । सन् २०१० देखि २०११ सम्म एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर भई उनले काम गरिसकेका छन । संस्थालाई अगाडि बढाउन र आफ्ना अनुभव उपयोग गर्न आफूले एनआरएन एनसीसीको उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाई छ । उम्मेदवारीसंगै उनले आफ्नो कार्ययोजना पनि सार्वजनिक गरेका छन ।

९ महिने कार्यकालका लागि उनले दुईवटा एजेण्डा सार्वजनिक गरेका छन । अध्यागमन र आप्रवास एवं वाणिज्य डेस्कको स्थापना गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन । उनले भनेका छन -लामो समयदेखि बसोबास गरिरहेका प्रवासी नेपालीहरुले कानूनी मान्यता नपाएका कारणले अमेरिकी मूलधारको समाजमा आउन नसकेर छायामा बस्न बाध्य हुनु परेको छ । अमेरिकी माथिल्लो सदन सिनेटमा गत जुन महिनामा पारित भएको बृहत आप्रवासी सुधार विधेयक अहिले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा अड्किएको छ । आफ्नो कार्यकालको पहिलो सत्रमा नेपाली प्रतिनिधिमूलक संघ–संस्थाहरु र अन्य समुदायका क्रियाशिल अधिकारकर्मी संस्थाहरुसंग समन्वय गरी स्थानीयदेखि संघीय प्रतिनिधिहरुलाई व्यापक दवाव सृजना गरी उक्त बिधेयक पारित गराउने काममा आफ्नो बिशेष पहलकदमी हुनेछ, उपाध्यक्षका प्रत्यासी पराजुलीले भनेका छन ।

यसमा तपाईको मत