सन्दर्भ आमा दिवसः बलरामको सिद्धान्त

aama-3

(यो फोटो न्युह्याम्सर राज्यमा रहनु भएका समाजसेवी तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य लोक लामा गोलेले शेयर गर्नु भएको रातोपाटीको लेखबाट साभार गरिएको हो, यी बुढी आमा भारतीय हुन, उनी बलरामकी आमा होइनन तर बलराम जस्तै ५ जना अपराधी छोराहरुका आमा हुन, यो घटना काल्पनिक होइन, सत्य हो, नेपालीहरु पनि यो हदका छन भन्ने बुझाउन र त्यस्तो घीनलाग्दो काम कोहि कसै नेपालीबाट फेरी नहोस भन्ने चेतना अभिब्रिद्दीका लागि यहाँ प्रस्तुत गरिएको हो -सीधाकुरा)

सिन्धुपाल्चोक जिल्ला ढाँडखोलाका बलराम ढकाल (नाम परिवर्तन गरिएको) आफ्ना पिताको देहान्त पछि काठमाण्डौ आरुवारीमा आएर २०४५ सालदेखि बस्न थाले । ढाँडखोला पारीका नेत्र बिक्रम थापा राजा साहेव पछि उनकै पिताको नाउँ आउँथ्यो धन दौलतमा । १२ रोपनी पाखो बारी त सुन्तला र निवुवाका बोट विरुवाले भरिभराउ थियो उनको । सन्तानको एक मात्र छोरा भएका नाताले उनलाई बाबुको सवै बिर्ता आइलागेको थियो तर कुबुद्धि हो वा सुबुद्धि सवै थापा राजा साहेवकै सन्तान दरसन्तानलाई बेचेर उनी काठमान्डू आरुवारीमा एउटा घर किनेर तिब्बती ऊन कातेर खाने मेलोमेसो तिर लागे ।

समयको दौडाइमा मेरो बलरामसंग भेट भयो र चिनजान गरियो । उनी पछि गाई पालेर दुध बेच्ने काम तिर लागे । एउटा गाइले विहान बेलुका गरी १० लिटर दुध दिन्थ्यो र त्यहि दुध सिलावरको जल्दानीमा साइकलको पछाडिपट्टि दुईतिर झुण्ड्याएर आरुवारीदेखि असनसम्म बेच्न बलराम धाउन थाले । पछि पछि उनले गाइहरु थप्दै गए र दुधको जल्दानी साइकलमा नभइ बिक्रम ट्याम्पोमा ओसार्न थाले । घरमा उनका चार लालाबाला, धर्मपत्नी र बुढी आमा थिए । लालाबाला जति आरुबारीस्थित सरकारी विद्यालयमा पढ्थे । बलरामकी पत्नी दिनमा पाँच किलो ऊन कात्न भ्याउँथिन । तर उनकी आमा ८० वर्षकी बुढी भएका कारण केहि गर्न सक्दैनथिन ।

समय गुज्रँदै थियो, एकदिन बलराम आफनी आमालाई लिएर बाराणसी जाँदै थिए । अचानक यो बबुरोसंग उनीहरुको भेट भयो, गोरुसिङ्गेमा । म हुनाइनाथ ट्राभल्सको बसबाट महेन्द्रनगर तर्फ जाँदै थिएँ भने उनीहरु बाराणसी हिडेको बताउँदै थिए र मायालु ट्राभल्सको बसबाट नेपालगञ्जतर्फ । मैले गोरुसिगेमा भात खाने मेलो कसें र बुढी मान्छे देखेपछि बलरामलाई केहिँ खाउँन भनेर सोधें । बलरामले अनिच्छा जाहेर गरे तर बुढी आमैले भनिन–म एक गिलास तातो दुध पिउँछु । बलरामले आमालाई पर्दैन भनेर हकारे । मैले बलरामलाई किन आमालाई हकार्छौ भने र बुढी आमैलाई एक गिलास तातो दुध दिन साहुनीलाई भने । बुढी आमैले दुध पिउँदै थिइन । त्यसैबेला बलराम फुत्त बाहिर निस्किए, हतारमा बुढी आमैले मलाई सुनाइन, उनको घरमा दिनहुँ १२ पाथी दुध दुहिन्छ तर आफुले एक गिलास दुध खान आजसम्म पाएको छैन ।

म चढेको बस गुड्न तयार थियो र बुढी आमैलाई राम्ररी बाराणसी पुगेर फर्कनु होला भनेर म आफ्नो गन्तब्यतिर लागे । महेन्द्रनगरमा एक साता काम भ्याएर म काठमाण्डौ फर्किएँ र एक महिनापछि बुढि आमैलाई भेटन् आरुबारी गएँ तर बुढी आमै घरमा थिइनन् । बलराम पनि थिएनन् । बलरामकी पत्नीले आमा पहाड जानु भएको छ भनेर बताइन् । होला त नि भनेर म आफ्रनै घर तर्फ फर्किएँ ।

करिव दुई वर्षपछि म न्यूजिल्याण्डको भिसाको लागि नयाँदिल्लीस्थित चाणक्यपुरी पुगेँ । बाटोमा हिड्दै थिएँ, अचानक ए बाबु ! ए बाबु ! भन्ने आवाज कानमा ठोकियो । देब्रेतर्फ मुन्टो फर्काएर हेरेँ, तिनै बुढी आमै थाङने र माग्नेको भेषमा चाणक्यपुरीको कुटनीतिक क्षेत्र वरपर माग्दै घुम्दै बस्दी रहिछन् । उनलाई देखेपछि मेरो मनको भक्कानो फुट्यो र आँखाबाट बलिन्द्र धारा आँसु झर्यो । मैले आफुलाई सम्हाले र आमैलाई सोधेँ, तपाई यहाँ किन र कसरी ? उनको मन कठोर भइसकेको तर गोरुसिङ्गेमा पिएको दुधको सम्झना भने उनमा ताजै रहेछ ।

आमैले बताइन– आरुवारीबाट हिड्नु अघिको रातसम्म पनि बाराणसी जाने कुराको कुनै टुङ्गो थिएन् । बलरामका जोइ पोइ रातभर खासखुस खासखुस गर्दै थिए, विहान झिसमिसेमा बलराम मलाई उठाउन आयो र जाउँ–आज बाराणसी जाने कुरा छ भनेर । म खुशी भएँ गंगाजीमा बलरामका पिताको नाउँमा तर्पण दिन पाउने भएँ भनेर । हामी आमा छोरा बाटोमा जाँदै थियौँ बाबुलाई पश्चिमतिर कता हो बाटोमा भेट भयो भनेर आखाँबाट तरक्क आँसु झारिन् र एकछिन भक्कानिइन ।

उनीहरु आमा छोरा भोलिपल्ट साँझ दिल्ली पुगेछन् र दिल्लीको ब्यस्त रेल स्टेसनमा आमालाई बलरामले पुर्याएछ्न । बलरामले आमालाई स्टेसनको एउटा मेचमा बस्न भनेछन र आफु फलफूल किनेर ल्याउने बहाना बनाई बुढी आमालाई छोडेर भागेछन । फलफुल किनेर ल्याउने भनेर हिँडेको छोरो एक छिन, एक दिन, एक महिना, एक वर्ष, कुनै पनि बेला फर्केन, उनले बताइन । उनले आफ्नो यो संसारमा अब कोही नरहेको बताइन र मर्नु भन्दा बहुलाउनु निको ठानी मागेर खाने तर घर नजाने र त्यसको सन्तान–दर सन्तानको त नामसम्म पनि नलिने भनिन । उनको कुरो सुनेर मैले आमैलाई घर फर्काइदिने सोच गरेँ र घर फर्केर जाउँ भने । उनले ठाडै इन्कार गरिन र भनिन -मलाई यति टाढा यो भड्खारोमा ल्याएर फाल्ने मान्छेको घरमा के सम्झेर जाउँ? न म त्यसको आमा न त्यो मेरो छोरो?

मैले जोड गरेँ तर उनले मरिहत्ते पनि नजाने भनिन । उनले जाँदै नजाने बाचा गरे पछि मैले उनलाई आफ्नो साथमा भएको १ हजार भारतीय रुपैँया खाना किनेर खानु है भनेर हातमा थमाएँ र मन रुहाउँदै न्यूजिल्याण्ड दुतावास तर्फ लागें ।

भोलिपल्ट म काठमाण्डौ फर्किएँ । विमानस्थलबाट ट्याक्सीमा चावहिल गएँ । अचानक ट्याम्पो कुरिरहेको ठाउँमा बलरामसंग जम्काभेट भयो । मेरो मुखमा थुक जम्मा भइसकेको थियो । बलरामले के छ त नि ? भनेर के सोधेको मात्र थियो, उसको अनुहारभरी मैले थुकिदिएँ । उ अक्क न बक्क भयो । सारा बस कुर्ने मान्छेहरु मलाई र बलरामलाई हेर्न थाले । के भयो भनेर सोध्न थाले । बलराम नाजवाफ भयो, मलाई बलराम देखेर घृणा जाग्यो । म बस कुर्न छाडेर हिडेर घरतर्फ लागें । बाटाभरी मैले बलरामको विगतदेखि आगतसम्मको यात्राको सम्झना गरेँ ।

ढाँडखोलादेखि आरुवारीसम्मको, आरुवारीदेखि गोरुसिङ्गे र गोरुसिङ्गेदेखि चाणक्यपुरीसम्मको सम्झना गरेँ । मान्छे कतिसम्म पापी हुँदो रहेछ भन्ने कुरो मैले बलरामलाई भेटेपछि थाह पाएँ । बलरामको पति पत्निले के के गरेर बुढी आमालाई दिल्लीको भीडमा छोड्ने भन्ने योजना आमैलाई लिएर हिड्नु अघिको रातभर बनेको कुरो एक पछि अर्को गर्दै मेरो घरसम्म तीन वर्षपछि आइपुग्यो । बुढाबुढी भएपछि आमा बाबुलाई दिल्लीको रेल स्टेशनमा पुर्याएर छोड्नु पर्छ भन्ने असली काइदा सिकाउने बलराम जस्ता महान प्रेमीलाई म आज हजारौ कोष टाढाबाट सम्झँदै छु । मैले यसलाई बलरामको सिद्दान्त भन्ने गरेको छु ।

बलरामको सिद्धान्तको पालना गर्ने नेपालीहरुको भीड तत्पश्चात बाक्लै देखिन थाल्यो । मलाई त्यस्ता घटना परिघटनाहरुमा चाख पनि बढ्न थाल्यो । मैले त्यस्ता घटनालाई निहाल्न थालेँ । एकदिन बिहान साढे तीन बजे मेरा एक आफन्तलाई भद्रपुर जाने बसमा छोड्न कलंकी पुगेँ । एउटा भारतीय नम्बर प्लेटको महिन्द्रा जीपबाट दुई वटै खुट्टा नभएका अपाङ्गलाई झारियो र उसका पोका पन्तरा तथा केही खानेकुरा र पैसा दिए जस्तो गरेर दुई जना मान्छे जीपलाई दाहिने मोडेर थानकोट तर्फ लागे । त्यो अपाङ्ग रुन थाल्यो । त्यसैवेला छ्याङ्ग उज्यालो झर्यो र अपाङ्गलाई प्रष्ट चिन्न सकियो । उ नेपाली नभएर भारतीय मूलको मान्छे थियो ।

मेरो मनमा कौतुहल जाग्यो र बलरामको आमाको हालत संझिदै उ कहाँ गएँ । मैले उसलाई सोधेँ क्याहे भाइ साप? आप कहाँ से ? उसले जवाफ दियो – ठिकी हे, मुझे लखनऊ से । उ बताउन थाल्यो– लखनऊ पुलिस ने मुझे इदर ल्या के छोड दिया, मे जैसा साराको ओ पुलिसलोग अइसै कर रहे हैँ ।

लाटा गाँडा देशलाई घाँडा भनेको यहि रहेछ । भारतका विभिन्न ठाउँमा अपराध गर्ने, लागु पदार्थ दुर्ब्यसनी, चोरी गर्ने, अपाङ्ग, बहुला, लाटालाटी, नाङ्गै हिड्नेको अहिले काठमाण्डौ स्वर्गद्वारी भइरहेको छ । नेपाल सिमा नजिकका भारतीय शहरहरुमा भएका त्यस्ता घाँडाहरुलाई भारतीय सादा पोशाकका प्रहरीले गाडीमा हालेर काठमाण्डौ ल्याई छोडि दिने गरेको घटना सायद बलराम जस्ता महान सिद्धान्तकारको अनुसरण गरेको मान्न सकिन्छ ।

भारतीय पुलिसहरुको महान कार्यले अहिले तिब्रता पाइरहेको कुरो मेरो कानमा अझै ठोक्किन छोडेको छैन् । काठमाण्डौमा मात्र होइन, बहुला र अपाङ्गहरुको धुइरो अहिले परिवार र पुलिस दुवैले काकडभिट्टा, भद्रपुर, विराटनगर, जनकपुर, हेटौडा, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, राजापुर, कञ्चनपुर र महेन्द्रनगरमा लगाउन थालेका छन । परिवारमा घाँडो मान्छे जन्म्यो भने वा पछि घाँडो भयो भने उसलाई डाँडो कटाउनु पर्छ भन्ने सिद्धान्तका प्रतिपादक बलरामलाई मान्नै पर्छ ।

कस्तो महान सिद्धान्त? आफु पनि जोगिने, घाँडो पनि जोगिने । महान सिद्धान्तकार बलरामले बुढाबुढी बाबु आमा, अपाङ्ग, लाटा लाटी, बहुला आदि घाँडा सन्तानलाई डाँडा कटाउने महान काइदाको सूत्रपात गरे र भारतीय घाँडा सन्तानका जिम्मेदार र पुलिस प्रशासन त्यसको पालनामा जुटे । यो महान सिद्धान्तको पालना नेपालीले गर्न जाने भने भारतको धेरै शहरहरुमा पुर्याउनु नै पर्दैन, नेपाली घाँडाहरुलाई सिलगुढी, लखनउ र दिल्लीमा लगेर छोडि दिए पुग्छ ।

के गर्नु ? यस्ता कुराको जानकारी नेपाल सरकार, प्रहरी प्रशासन, बिभिन्न राजनीतिक दलहरु लगायत सवैलाई छ, तर मुकदर्शक बन्नु सिवाय उनीहरुको अरु तागत छैन भने पनि हुन्छ । मातृ दिवस २०१५ ले घाँडा सन्तान, दर सन्तान, अभिभावक, नेपाल सरकार, प्रहरी प्रशासन, बिभिन्न राजनीतिक दलहरु र सम्बन्धित सवैमा चेतना जगावस सीधाकुराको यहि शुभ–कामना ।

यसमा तपाईको मत