ठुला राजनीतिक-सामाजिक नेताहरु के भन्नु हुन्छ?

sanjay and bishnu

 

नेपाल र बिस्वभरी नै नेपालीहरु जहाँ जहाँ पुगे पनि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) नपुगेको ठाउँ अब बिरलै होला । कांग्रेस र एमाले नेपालका दुई ठुला प्रतिस्पर्धी दल हुन, जसको प्रतिस्पर्धा अब प्रबासी नेपालीहरु पुगेको हरेक ठाउमा पनि हुन्छ र त्यो प्रतिस्पर्धा अमेरिका जस्तो बिशाल देशमा त नहुने कुरै भएन । प्रतिस्पर्धा हुनु राम्रो कुरा हो, यसैले हरेक संघसंस्थामा असल नेतृत्व भित्र्याउछ । हरेक बिषयबस्तुको दुवै पाटो हुन्छ असल र खराब, जुन हरेक व्यक्तिमा पनि हुन्छ, फरक यति मात्र कुन पाटोलाई व्यक्तिले आत्मसात गर्ने भन्ने हो । राजनीतिको सत्तो सराप गरेर मात्र समाज बन्ने होइन, बिना राजनीति संगठन हुँदैन भने बिना संगठन सुझबुझ हुँदैन । मान्छेमा सुझबुझ भएन भने कुनै संघ संगठन पनि गतिलो हुँदैन । यो कुरा हामी समाजसेवी भन्दा बढी राजनीतिक र सामाजिक ज्ञान भएका नेताहरुमा पक्कै बढी होला ।

एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनका ५२ जना प्रतिस्पर्धीहरुको राजनीतिक तथा सामाजिक झुकाव होला नै, नभए पनि आपत विपद पर्दा ओत खोज्ने ठाउ भने नेपाली जनसम्पर्क समिति र प्रबासी नेपाली मंच पक्कै हो । आफुलाई नपर्दा मात्र हो, आपद पर्दा कोरीको पनि पाउ मोल्न पुग्ने हामी नै हौँ भने समिति र मंचप्रति धारे हात लगाएर मात्र समाजले केहि पाउंदैन, यसको अर्थ हो वहाँहरुको भूमिका हामीले जानी राख्नु पर्ने हुन्छ । अमेरिकाबासी हामी नेपाली अहिले पहिलो पटक एनआरएन एनसीसी अफ युएसएका चुनावमा प्रतिस्पर्धा गर्दै छौं, त्यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समिति र मंचको संलग्नता छ तर समितिका संयोजक बिष्णु सुबेदी र मंचका अध्यक्ष संजय थापा एनआरएन अमेरिकालाई पूर्ण रुपमा नन पोलिटिकल संस्थाको रुपमा मान्यता राख्नु हुन्छ र भन्नु हुन्छ -हाम्रो पोलिटिकल इन्फ़्लुएन्स हुँदैन, एनआरएन आफैमा सामाजिक संस्था भएकाले हाम्रो प्रत्यक्ष दबाब वा प्यानल बनाएर चुनावमा सहभागिता छैन । यो वहाहरुको भनाईमा सत्यता कायम राख्न दिउँ र एनआरएन अमेरिकामा पोलिटिकल इन्फ़्लुएन्स कदापि नहुने बाताबरण बनाउने जिम्मा हाम्रो पनि हो ।

बिष्णु सुबेदी १ बर्षदेखी जनसम्पर्क समिति अमेरिकाको संयोजक र संजय थापा २ बर्षदेखि प्रबासी नेपाली मंच अमेरिकाको अध्यक्ष हुनुहुन्छ र वहाहरुको समिति र मंचमा निकै सक्रियता छ, वहाहरु आ-आफ्ना संगठन बिस्तार र सदस्यता अभिब्रिद्दिका साथै अमेरिकाको नेपाली समाजको बिकासमा क्रियाशील हुनुहुन्छ । वहाँहरु अमेरिकाको नेपाली समाजका सामाजिक नेता पनि हुनुहुन्छ भने एनआरएन अमेरिकाको आसन्न निर्बाचनलाई निकै चासोका साथ हेरिरहनु भएको छ । यसै सेरोफेरोमा रही समाजका दुवै नेता सुबेदी र थापासंग आज दिउसो छुट्टा छुट्टै कुराकानी भएको थियो, त्यसकै सार संक्षेप:

१) आसन्न एनआरएन एनसीसी अफ युएसएको निर्बाचनमा तपाइहरुको राजनीतिक संगठनहरुको ब्यापक प्रभावको कुरा उठिरहेको छ, के त्यो प्रभाव जायज हो?

सुबेदी: एनआरएन अमेरिका आफैमा नन पोलिटिकल संस्था भएकाले हाम्रो यसमा राजनीतिक प्रभाव छैन र कदापि हुँदैन, बाहिरका कुराहरु सबै हल्ला मात्र हुन । समितिको आफ्नै राजनीतिक संजाल भएकाले हामीलाई एनआरएनमा राजनीतिक प्रभाव जमाउनु छैन ।

थापा: हाम्रो संगठन प्रबासी नेपाली मंचले एनआरएन अमेरिकामा राजनीतिक हस्तक्षेप गर्दैन । एनआरएन अमेरिका पूर्ण रुपमा गैर राजनीतिक सामाजिक संस्था हो भने त्यहा हाम्रो राजनीतिक प्रभाव पारेर समाज भाड्ने काम हामी गर्न चाहादैनौ । हामी एनआरएनलाई सामाजिक संस्थाकै रुपमा पूर्ण रुपमा संचालन भएको हेर्न चाहान्छौ ।

२) समिति र मंच दुवै ठुला संजाल हुन । तपाइहरुको समिति र मंचको सदस्यता र एनआरएन अमेरिकाका सदस्यहरुको संख्या कति कति छन?

सुबेदी: हाम्रा सबै च्याप्टरहरुको सदस्यता लिने साथीहरुमा क्रियाशील १ हजार १ सय र साधारण ५ सय छ भने एनआरएन अमेरिकामा भएका कुल मतदाताहरु पनि १ हजार ५ सय जति छन ।

थापा: हाम्रो मंचका सदस्यहरु ११ सय छन भने एनआरएनका सदस्यहरु पनि ९ सय ५० छन ।

३) समिति र मंचको यो सदस्यता संख्याले एनआरएन चुनावको नतिजामा त प्रभाव पार्ने देखियो त?

सुबेदी: व्यक्तिगत उम्मेद्वारी र मतदानका आधारमा चुनाव हुने भएकाले हाम्रा साथीहरुबाट राजनीतिक आधारमा चुनावमा प्रभाव पर्दैन ।

थापा: हाम्रा साथीहरु कोहि पनि राजनीतिक आधारमा चुनाव लडिरहनु भएको छैन । सबै व्यक्तिगत मतदानका आधारमा चुनावी मैदानमा हुनुहुन्छ ।

४) अध्यक्ष लगाएत बरिस्ठ उपाध्यक्ष, महासचिब र कोषाध्यक्ष जस्ता संस्थाका मेरुदण्ड ठानिने पदमा को को जित्ने अनुमान गर्नु भएको छ?

सुबेदी: सामाजिक संस्था हाक्न सक्ने उम्मेदवारहरुको नै जीत हुन्छ, सचेत मतदाताहरु भएकाले चुनावका लोकप्रिय उम्मेदवारहरुको जित हुने मैले ठानेको छु । तर एउटा कुरा भनि हालौं – अधिकाम्स बिबेकशिल र डेमोक्र्याटहरुकै जीत हुन्छ ।

थापा: योग्य मध्यका योग्य उम्मेदवारहरुले जित्नु हुन्छ । योग्यता, क्षमता, क्रियाशीलता र निरन्तरतालाई हेर्ने काम मतदाताहरुबाट हुन्छ भन्ने मलाई लाग्छ । अध्यक्षमा सिबकुमार राई र खगेन्द्र जिसीकै बीच प्रतिस्पर्धा हुन्छ भने बरिस्ठ उपाध्यक्षमा घन दवाडी, महासचिबमा पुरुषोत्तम बोहोरा र कोषाध्यक्ष पदमा गोकर्ण दाहालले विजय हासिल गर्ने मैले अनुमान गरेको छु ।

५) अहिलेको चुनावका उम्मेदवारहरुले चुनाव महँगो बनाएर भाबि उम्मेदवारहरुको बाटो छेके भनिन्छ नि, के छ तपाइहरुको बिचार? साच्चिकै चुनाव धन भएकाले मात्र लड्ने पद्दति बसाउन खोजिएको हो?

सुबेदी: चुनाव भनेको अलिकति महँगो कुरा चाहि हो । धन नभए चुनाव लड्न कठिन नै हुन्छ । चुनावमा अलि अलि खर्च त हुन्छ नै, त्यतिलाई उम्मेदवारहरुले चुनाव महँगो बनाए भन्नु हुन्न ।

थापा: चुनावका केहि उम्मेदवारहरुले आर्थिक चलखेल गरेर बिकृति ल्याउन पक्कै खोजेका हुन । यदि यो क्रम बढ्दै जाने हो भने सामाजिक संस्थाको चुनाव राजनीतिक दलहरुको चुनाव भन्दा कम नहुने भयो । के त धन नहुने तर विद्वानहरुले एनआरएनको चुनाव लड्न नसक्ने बाताबरण बनाउनु हुन्छ? १० जना अनधिकृत व्यक्तिहरुले उम्मेद्वारी दिएको नाउमा एनआरएन आपतकालिन कोष बनाए न्युयोर्कमा, जसमा एनआरएन अमेरिकाका आधिकारिक व्यक्ति कोहि सामेल थिएनन । यस्तो चलखेल अबैधानिक भयो, यदि यस्तो बनाउनु नै पर्थ्यो भने चुनाव पछि निर्बाचित बोर्डले गर्नु पर्थ्यो । यो पनि एउटा आर्थिक चलखेलको उदाहरण हो । चुनाव अघि यी सब कुराहरुले भाबि चुनावलाई महँगो बनाउछ ।

अमेरिकाका राजनीतिक तथा सामाजिक नेताहरुका यी भनाईहरु एनआरएन एनसीसी अफ युएसएका उम्मेदवार तथा मतदाताहरुको लागि उपयोगी हुनेछन भन्ने सिधाकुरा अपेक्षा गर्दछ ।

यसमा तपाईको मत