मित्र स्मृति: एक रास्ट्र सेबकको अवसानले जन्माएको प्रश्न

Kailash

फिलाडेल्फिया, अमेरिका ।

तिमी कैलाश अझै पनि जीवित नै छौ जस्तो लाग्छ, जब नेपाली सेनाका केहि अन्य साथिहरुको साथमा २० बर्ष अघि भेट हुँदाको दृश्य अब फेसबुकमा मृत रंगमा मात्र देख्नु पर्ने हाम्रो बाध्यता भयो ।

गत मे ३० मै तिम्रो सम्झना गरौंला भन्ने एउटा अठोट पालेर बसेको पनि धेरै भएको थियो, समय र प्रबिधिले साथ नदिंदा ४-५ दिन ढिला हुन गएकोमा क्षमा गर । मे ३०, २०१७ को मध्यान्नमा तिम्रो जुन खबर पाएँ त्यसले हाम्रो २ दशकदेखिको आत्मियता दैबले चुडेर लगेको आभाष मात्र भएन, तिम्रो त्यो दुखद घटनाले बहिनि सावित्री, छोरीहरु द्वय बिभुति र काबेरी तथा सारा परिवारजन, आफन्त, नातागोता र इस्टमित्रहरुप्रति दुखानुभुती सहानुभूति कसरी प्रकट गरौँ भन्ने भैरहेको छ ।

नेपाली सेनाका महासेनानी कर्णेल कैलाश गुरुङ विपद् व्यवस्थापनमा नेपाल र अन्तरास्ट्रिय जगतमा नाउ चल्न थालेका रास्ट्र सेबक थिए । विपद ब्यबस्थापन, राहत वितरण र अप्ठेरोमा परेका मान्छेहरुको उद्दारमा उनको लगनसिलता बढ्दै गएको थियो । धेरै पटक सेनाको कार्गो बिमानमा उद्दार सामाग्री लिएर गई उनले आपद विपदमा परेकाहरुको सेवा गरेका थिए । सन २०१५ को महाभुकम्पमा उनको योगदान नेपालले कहिले भुल्ने छैन ।

नेपालको पुर्बी पहाडी जिल्ला भोजपुरको बिकट गाउँका मान्छे सेनाको उपल्लो दर्जामा पुगेर रास्ट्रको सेबा गर्दा गर्दै प्रतिकुल मौसमका कारण जीबन जोखिममा पार्दै मे ३० का दिन उनले देह त्याग गरे ।

plane-crash-31052017073908-1000x0

कारण उनको कमजोरी थिएन, नेपालको जटिल भौगोलिक अबस्था, प्रतिकुल मौसम, बिमानको पुरानो थोत्रो पार्टपुर्जा र सेनाको जबर्जस्त कमाण्ड पनि उनको देह त्यागको कारण थियो, फेरी नेपालमा बिमान चालक मृतकलाई दोष थोपरेर उम्कने राजनीतिक तथा चारित्रिक पद्दति बिकास भैसकेको परिप्रेक्षमा महासेनानीलाई नै गलत भन्ने पनि कतिपय नदेखिएका होइनन तर त्यो दुर्भाग्य थियो । विपद व्यवस्थापन, राहत र उद्दारकै सिलसिलामा उनले भोजपूरको ट्याम्के मैयुङ्गमा हेलिकप्टरमा गाडी बोकेर पुर्याएको जोखिमपूर्ण जुन काम गरे त्यो सदा सम्झनाको बिषय रही आएको छ ।

मे ३० को मध्यान्नमा देशमा पहाड खसेको अनुभव भयो, सेनाको एनए-०४८ बिमान बाजुरा जिल्लाको कोल्टी बिमानस्थलको केहि पर कोल्टे परेर दुर्घटना ग्रस्त हुँदा त्यसमा सबार अन्य दुइ जना रास्ट्र सेबकहरुको साथमा जब मित्र गुरुङ पहाड झैँ खसे तत्कालिन रक्षामन्त्रि इश्वर पोखरेलले यस्तो अनुभूति गरेको सार्बजनिक हुँदा हामी भाव विह्वल भयौं । दिबंगत रास्ट्र सेवक गुरुङ्गले आफ्नो अन्तिम साससम्म पनि देशको सेवामा समर्पित भएकोबाट खै नेपालले कसरी सदा सम्झना गर्छ? त्यो भने अहिलेसम्म अनुत्तरित छ । जे गरोस नेपालले तर दिबंगत मित्रको सम्झना मात्रले रास्ट्रले गर्ने सम्मान हुँदैन ।

उमेरले हामी भन्दा ५ बर्ष कान्छा दिबंगत गुरुङ्ग भोजपुरको ट्याम्के मैयुङ्गमा बुवा नरबहादुर गुरुङ र आमा गणेशकुमारी गुरुङको कोखबाट जन्मेका थिए । बहिनि सावित्री रत्न गुरुङ र दुई छोरीहरु विभुती र काबेरीलाई दुखको संसारमा डुबाएर स्वर्गबासी भए मित्र बाध्यताले । मृत्यु अबस्यम्भावी छ, टाढा छ की नजिक?  मृत्यु त्यस्तो रोजे उनले जुन हरेक नेपालीको मनमस्थिस्कमा सदा अमर रहीरहनेछ ।

नेपाली सेनामा सन १९८९ मा प्रवेश गर्ने दिन हामी पनि त्यहि लाइनमा थियौं तर उनले सफलता प्राप्त गरे हामी असफल र पनि मित्रता अनबरत रहिनै रह्यो, उनको जीबनको अन्तिम प्रहर भने देख्न पाइएन त्यहि मात्र चुकचुक रहिरह्यो ।

सलाम मित्र देश सेवाका लागि! तिम्ले अन्तिम प्रहरसम्म पनि देश सेवा गरिरह्यौ तर हामी भगौडा मुग्लानी, अबसरबादी, स्वार्थि भयौं, देश छोडी हिड्यौं, अर्कै देशको कुल्ली भयौं, तिमीहरुको अगाडी के ठुला गर्नु?

त्यसै आज मन्त्री लालबाबुले भगौडाहरुलाई कटाक्ष गरेका छैनन, हामीलाई त उनको कटाक्ष स्वागतयोग्य छ । देशको माया गर्नेहरु देशमै बस्नु पर्छ जसरी तिमी बस्यौ मित्र। स्वार्थ र अवसरको खोजीमा हिड्ने भगौडाहरुलाई त्यहि देशको नाता जोडेर, माया जोडेर, फेरी त्यहि देशमा स्वार्थपूर्ति गर्ने अभिलाषा बोकेर हिड्ने हामीहरुलाई तिम्रो अमर योगदान नै काफी छ, बुझ्नेले बुझ्छ, ढोंगीले कदापि बुझ्दैन ।

यसमा तपाईको मत