हात्ती आयो हात्ती आयो फुस्सा: भण्डारी पनि पराजित

images

न्युह्याम्सर जुन २५ । मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स सदस्यमा डेमोक्र्याट पार्टीको तर्फबाट नेपाली मुलका प्रत्यासी एचबी भण्डारी “ह्यारी” अन्तत: प्रारम्भिक चुनावमा नै पराजित भएका छन ।

हिजो मंगलबार सम्पन्न बाल्टिमोर काउन्टीको डीस्ट्रीक्ट ८ का लागि ३ जना चुन्नु पर्ने प्रारम्भिक चुनावमा भण्डारी कुल ३ हजार ७ सय उनान्तीस भोट (१५.६८%) प्राप्त गरेर विफल भएका थिए । प्रत्यासी भंडारीले अन्तर पार्टी प्रारम्भिक चुनावमा आफ्ना प्रतिद्वन्दी बिल पल्सकभन्दा ६ सय पैतिस मतको अन्तरमा पराजय बेहोरेका थिए ।

HB Bhandari

यस अघि नेपाली मुलका दर्शन रौनियारले वाशिंगटन स्टेटबाट कन्ग्रेस म्यानको अन्तर पार्टी प्रारम्भिक चुनावको दौडमा जमानत जफत हुने गरी पराजय बेहोरेका थिए । मंगलबार सम्पन्न मेरिल्याण्डको बाल्टिमोर काउन्टी अन्तर्गत डीस्ट्रीक्ट ८ को डेमोक्र्याट पार्टीको प्रारम्भिक चुनावमा बिजयी हुने उम्मेदबारहरुमा एरिक ब्रमवेल, रिन स्मिथ र विल पल्सक रहेका छन । बिजयी उम्मेदबारहरुले आगामी निर्वाचनमा रिपब्लिकन उम्मेदबारहरुसंग प्रतिस्पर्धा गर्नेछन ।

प्रत्यासी भण्डारीको पराजयका थुप्रै कारणहरु छन । मेरिल्याण्डको बाल्टिमोर बहुसंख्यक आप्रबासीहरु रहेको बहूल क्षेत्र हो । जहाँ अमेरिकन-नेपाली र अमेरिकन-भारतीय भन्दा अमेरिकन-अफ्रिकनहरुको ज्यादा जनघनत्व छ । मुख्यकुरो नेपाली वा भारतीय मूलका जो उम्मेदवार बने पनि आप्रबासी समुदायलाई जसले प्रभावमा राख्न सक्छ, उसकै बिजयको सम्भावना बढी हुन्छ । यस अर्थमा उम्मेदवार भण्डारीको केहि कमजोरी चाहि पक्कै भएको छ ।

भण्डारीको पराजयका पछाडी अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलको चिनारी नै प्रमुख कारण हो भने नेपाली मुलका आप्रबासीहरुको चन्दा सहयोगको मात्रा, उनीहरुको चुनावी क्याम्पेनमा सहभागिता र बिजयका सम्भावनाका लागि अन्य आप्रबासी समुदाय बीच सुमधुर सम्बन्ध कायम गराई दिने स्वयमसेवकहरुको कमीले गर्दा भण्डारीको पराजय भएको हो । सबै आप्रबासी समुदायहरुको साझा उम्मेदवार भण्डारी नभएकाले यस्तो स्थिति देखा परेको हो ।

अहिले पराजय भए पनि नेपाली मुलका युवा भण्डारीले मुलधारको राजनीतिमा निरन्तर लगाव दिई भावी कुनै पनि किसिमको अवसरलाई समात्न सक्ने हैसिएतलाई भने कायम राख्न जरुरी छ । अमेरिका भरिका नेपालीहरुले उनको बिजयको आशा राखेका थिए भलै उनी पराजय भए पनि दर्शन रौनियारको जस्तो शर्मनाक पराजयबाट भने जोगिए ।

धेरै नेपालीहरुलाई यो पटक हात्ती आयो, हात्ती आयो भनेजस्तै भएथ्यो तर हात्ती होइन यो पटक पनि फुस्सा नै । भण्डारीको बिजयको चाहाना राखेर मात्र हुँदैन, उनको चन्दा संकलन अभियानमा नेपालीहरुले आशातित रुपमा नसघाएकाले पनि भण्डारीको पराजयलाई अगाडी बढाएको हो । अब आइन्दा यस्ता अभियानमा मन खोलेर चन्दा दान गर्न सिधाकुरा नेपाली मूलकाहरुलाई अनुरोध गर्दछ ।

यसमा तपाईको मत